News लिखु र मोलुङ्ग क्वाटरफाइनलमा
गोलनेपाल

मानेभञ्ज्याङ । लिखु गाउँपालिका र मोलुङ्ग गाउँपालिका, ओखलढुङ्गा यहाँ जारी प्रदेश स्थानीय तह अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

दिनको पहिलो प्रिक्वाटरफाइनलमा लिखु गाउँपालिकाले नेचा सल्यान गाउँपालिका, सोलुखुम्बुलाई ५–१ को अन्तरले हरायो । लिखुको जितमा आकाश पौडेलले ह्याट्रिक गरे । त्यस्तै सुरज बिष्ट र करुण मगरले थप एक–एक गोल गरे ।

उता पराजित नेचा सल्यानका लागि बिराज राईले एक मात्र गोल फर्काए । खेलमा ह्याट्रिक गरेका लिखुका आकाश पौडेल म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे ।

बिहीबार नै भएको अर्को प्रिक्वाटरफाइनलमा मोलुङ्ग गाउँपालिकाले थुलुङ्ग गाउँपालिका, सोलुखुम्बुलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्यो । मोलुङ्गका लागि मिलन परियारले दुई गोल गरे भने रबिन मगरले थप एक गोल गरे ।

खेलमा मोलुङ्गका मिलन परियार म्यान अफ द म्याच घोषित भए । उनले पनि नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत पुस २० गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल लालीगुराँस नगरपालिका, तेह्रथुम र ट्याम्के मयुङ्ग गाउँपालिका, भोजपुरबीच हुनेछ ।

मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही १–१ लाख पाउने आयोजकले जनाएको छ । फाइनल खेल पुस २७ गतेका दिन हुनेछ ।

Post Comments