News विश्व शान्ति फाइनलमा, उपाधिका लागि समपुर्णसँग भिड्ने
सुरज राना मगर

फर्साटिकर । उत्कृष्ट पूनःरागमन गर्दै विश्व शान्ति युवा क्लब, सालझण्डी यहाँ जारी शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा विश्व शान्तिले राईजिङ स्टार फुटबल क्लब, नवलपरासीलाई ३–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । फर्साटिकर उमाविको खेलमैदानमा भएको खेलको ३८औं मिनटमा मनिष पौडेलको गोलबाट राईजिङले खेलमा अग्रता बनाएको थियो ।

तर, विश्व शान्तिले उत्कृष्ट पूनःरागमन गर्यो । दोस्रो हाफको ४७औं मिनटमा फागुराम थारुले विश्व शान्तिका लागि बराबरी गोल फर्काए । ७५औं मिनटमा छिरिङ लामाले दोस्रो गोल थपे भने अन्तिमतिर इनजुरी समयमा रन्जित आलेले तेस्र्रो गोल गर्दै विश्व शान्तिको जित सुनिश्चित गरे ।

खेलमा विश्व शान्तिका छिरिङ लामा म्यान अफ द म्याच घोषित भए । विश्व शान्तिले अब पुस २१ गते शनिबारका दिन हुने फाइनलमा समपुर्ण युवा क्लब, सुपौलीसँग उपाधिका लागि भिड्ने खेल संयोजक अमृत खड्काले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २,७५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,३५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Post Comments