News लालीगुराँस नगरपालिका क्वाटरफाइनलमा
गोलनेपाल

मानेभञ्ज्याङ । रोमाञ्चक जितका साथ लालीगुराँस नगरपालिका, तेह्रथुम यहाँ जारी प्रदेश स्थानीय तह अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ लालीगुराँसले ट्याम्के मयुङ्ग गाउँपालिका, भोजपुरलाई ४–२ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

लालीगुराँसका लागि संजिव लिम्बुले दुई गोल गरे भने महादेव तामाङ र गणेश लिम्बुले थप एक–एक गोल गरे । उता पराजित ट्याम्केका लागि अभिषेक राई र युवराजले गोल फर्काएका थिए ।

खेलमा लालीगुराँसका संजिव लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे । प्रतियोगिता अन्तर्गत पुस २१ गते शनिबारको खेल घरेलु टोली मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गा र हलेसी तुवाचुङ नगरपालिका बीच हुने आयोजकले जानकारी दियो ।

मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही १–१ लाख पाउने आयोजकले जनाएको छ । फाइनल खेल पुस २७ गतेका दिन हुनेछ ।

Post Comments