News ३१औं त्रिवेणी कपः लालीगुराँस र बेसिशहर उपाधिका लागि भिड्ने
गोलनेपाल

बेसिशहर । लालीगुराँस युथ क्लब र बेसिशहर युथ सोसाईटी यहाँ जारी ३१औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । शुक्रबार भएको दुई सेमिफाइनलमा आ–आफ्नो खेलहरु जित्दै लालीगुराँस र बेसिशहरले उपाधि भिडन्त पक्का गरेका हुन् ।

त्रिवेणी रंगशालामा भएको पहिलो सेमिफाइनलमा लालीगुराँसले अभिषेक चर्च, रजहरलाई २–१ ले हराउँदै फाइनलमा प्रवेश गर्यो । लालीगुराँसका लागि फोडे फोफनाले एक गोल गरे भने थप एक गोल विपक्षी टोलीका जनक कोइरालाले आत्मघाती गोलका रुपमा गरेका थिए ।

उता पराजित अभिषेक चर्चका लागि भने सन्जिव बिष्टले गोल गरेका थिए । खेलमा लालीगुराँसका गोलकर्ता फोफना म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे ।

त्यसैगरी दोस्रो सेमिफाइनलमा बेसिशहरले लङ्दीदेवी युथ क्लबलाई समान २–१ को अन्तरले हरायो । बेसिशहरको जितमा दुवै गोल आशिष चौधरीले गरे । पराजित लङ्दीदेवीका लागि भने प्रदिप लामाले गोल गरेका थिए ।

खेलमा बेसिशहरका लागि निर्णायक बनेका आशिष चौधरी म्यान अफ द म्याच चुनिए । उनले पनि पुरस्कार वापत नगद ५ हजार हात पारे । शनिबार हुने फाइनलमा लालीगराँस र बेसिशहर उपाधिका लागि भिड्ने छन् ।

त्रिवेणी युवा क्लब, बेसिशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

Post Comments