News राइनो संरक्षण गोल्डकप माघ अन्तिम सातादेखि
गोलनेपाल

मध्यविन्दु । नवलपुर जिल्ला कै प्रतिष्ठित राइनो संरक्षण गोल्डकप नकआउट फुटबल प्रतियोगिता आगामी माघ २७ गते सनिवार देखी सुरु हुने भएको छ ।

राइनो क्लवको आयोजनामा फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नवलपुर जिल्लाको मध्यविन्दु–२ कोल्हुवा स्थित राइनो कप खेलमैदानमा हुनेछ । फुटबल प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो ।

संरक्षक संस्था नन्द–भाउजू उपभोक्ता समितिको अध्यक्ष दोमन भण्डारीले विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टिम, सशस्त्र प्रहरीको एपीएफ, आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमले सहभागिता जनाउने जानकारी दिए ।

प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले ५ देखि १० लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले आकर्षक पुरस्कार पाउने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्दै राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले लामो इतिहास र विरासत बोकेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुनु गर्वको कुरा भएको बताउँदै प्रतियोगिताका लागि खेलकुद परिषद्को सहयोग रहने बताए ।

त्यस्तै मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले स्थानिय खेलाडी उत्पादन गर्नु आफ्नो र नगरपालिकाको प्राथमिकता रहे पनि राइनो कपको निरन्तरता र बिकासका लागि नगरपालिका सकारात्मक रहेको बताए । उनले खेलकुद शिक्षासँग जोडिएको विषय भएकाले यसको विकासका लागि तिनैतहका सरकारले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिए ।

गैंडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउन, खेलकूद र पर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक संस्थाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

Post Comments