News भैरवलाई लियो बिक्रम स्मृति कपको उपाधि
सुरज राना मगर

सालझण्डी । रुपन्देहीमा सम्पन्न लियो बिक्रम स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि भैरव एफसी नवलपरासीले जितेको छ ।

सैनामैना नगरपालिका–१० सालझण्डी स्थित पानबारी खेलमैदानमा भएको फाइनलमा भैरवले एकता युवा क्लब, रुपन्देहीलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै उपाधि जित्न सफल भयो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको भैरवले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता एकताले ५१,१११ रुपैयाँमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच भैरवका गोलरक्षक प्रदिप भण्डारी घोषित भए ।

त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भैरवका मनोज रसाइली चुनिए । उनले पुरस्कार वापत नगद २ हजार हात पारे । उत्कृष्ट गोलरक्षक पनि भैरव कै प्रदिप भण्डारी चुनिए भने उत्कृष्ट डिफेन्डर एकताका हिमाल थापा घोषित भए ।

त्यस्तै उत्कृष्ट मिडफिल्डर भैरवका सरोज थापा बन्दा उत्कृष्ट फरवार्ड एकताका सुरज घलान घोषित भए । त्यस्तै उदयीमान खेलाडी आयोजक लियो क्लब अफ सालझण्डीका लोकेश बुढा घोषित हुँदा सर्वाधिक गोलकर्ताको पुरस्कार फुलबारी गाईजका सबी गुरुङले हात पारे ।

उत्कृष्ट प्रशिक्षक भैरव कै अन्जन अधिकारी बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले जनही १–१ हजार प्राप्त गरे ।

लियो क्लब अफ सालझण्डी, रुपन्देहीको आयोजनामा गत फागुन २१ गतेदेखि शुरु प्रतियोगितामा रुपन्देही र नवलपरासीका गरी कुल १५ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments