News सिंहदेवी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

इटहरी । संघर्षपुर्ण जितका साथ सिंहदेवी फुटबल क्लब, धनकुटा यहाँ जारी स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरी स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको चौथो क्वाटरफाइनलमा सिंहदेवीले आयोजक द योङ्ग ब्रदर्श क्लब, इटहरीलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा सिंहदेवीका गोलरक्षक राजिव क्षेत्री म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १७ गते बुधबारको पहिलो सेमिफाइनल खेल बि.टी.एफसी, तेह्रथुम र दमक एकेडेमी फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।

द योङ्ग ब्रदर्श एफसी, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २० गतेका दिन हुनेछ ।

Post Comments