News चिनीया टोली विरुद्ध नेपाल हावी
गोलनेपाल

काठमाडौं । चिनीया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यु–२३ फुटबल टोली र चीनको किङ्घाई फुटबल क्लब बीचको मैत्रीपूर्ण खेलमा नेपालले ५–१ को प्रभावशाली जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल शुरुवातबाटै हावी देखियो । खेलको दोस्रो मिनट मै सन्जिव बिष्टको गोलबाट नेपालले खेलमा अग्रता बनाएको थियो । ३९औं मिनटमा समिर तामाङले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म नेपालले २–० कै अग्रता कायम पनि राख्यो ।

दोस्रो हाफको ५४औं मिनटमा समिर तामाङले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपे । एकतर्फी हावी देखिएको नेपालका लागि ६३औं मिनटमा छिरिङ लामाले चौथो गोल गर्दा ७५औं मिनटमा निराजन धामीले पाँचौं गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।

त्यस्तै नेपालले पाँचौं गोल गरेको तीन मिनट लगतै गोल खान पुग्यो । ७८औं मिनटमा पेंगकोउले चिनीया टोलीका लागि एक गोल फर्काए तापनि पाहुना टोलीलाई खेलमा फर्काउन त्यो गोल अबेर भईसकेको थियो ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो ऐनिस कै प्रशिक्षकीय जिम्मेवारीमा उत्रिएको नेपालले मैत्रीपूर्ण खेल भए तापनि राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यहरु आयुष घलान, लाकेन लिम्बु, मनिष डाँगी जस्ता खेलाडीहरुलाई मैदानमा उतारेको थियो ।

Post Comments