News चर्च ब्वाईज र रोयल वेस्टर्नस् बीच सहकार्य (पत्रसहित)
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । नेपालको ए डिभिजन लिग च्याम्पियन एपी पावर चर्च ब्वाईज युनाइटेड क्लब र अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायद्वारा सञ्चालित रोयल वेस्टर्नस् क्लब, मेलबर्न बीच सहकार्य गर्ने सम्झौता भएको छ ।

दुवै क्लबले एक कार्यक्रमका पत्रकार सम्मेलनको आयोजना गरी सो सहकार्यबारे जानकारी गराएको हो । सम्झौता अनुसार चर्च ब्वाईज युनाइटेड र रोयल वेस्टर्नस् क्लब बीच छोटो अवधिका लागि खेलाडी, प्रशिक्षक तथा प्रविधिक आदान प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

यो सम्झौतासँगै चर्च ब्वाईजले प्रतिभावान नेपाली खेलाडीलाई रोयल वेस्टर्नस् क्लबमार्फत अष्ट्रेलियामा व्यवसायिक फुटबल खेल्ने तथा विशेष प्रशिक्षण गर्ने अवसर प्रदान गर्नेछ । तर, यसरी अष्ट्रेलियामा खेल्ने तथा प्रशिक्षणको अवसर पाउने खेलाडी तोकिएको अवधिपछि निश्चित रुपमा नेपाल फर्कनु पर्नेछ ।

त्यस्तै रोयल वेस्टर्नस् क्लबले अष्ट्रेलियामा रहेका नेपाली मूलका प्रतिभावान युवा खेलाडीलाई चर्च ब्वाईजसँगको सहकार्यमा नेपालमा खेल्ने वातावरण सिर्जना गर्ने सहकार्य भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

सम्झौतापत्रमा चर्च ब्वाईजको तर्फबाट अध्यक्ष टंकलाल राई र रोयल वेस्टर्नस्को तर्फबाट अध्यक्ष रोशन दाहालले हस्तान्तरण गरेका थिए । साथै यो सहकार्यले आगामी दिनमा नेपालबाट प्रतिभा पलायनको समस्यामा निकास दिन सहयोगी भूमिका निर्वाह गर्ने तथा नेपाली फुटबल विकासको अभियानमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास दुवै पक्षले लिएको छ ।

 

Post Comments