News बानेश्वरलाई हेटौडा भेट्रान्स कपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ सम्पन्न नवौं हेटौडा भेट्रान्स कप एट ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि बानेश्वर भेट्रान्सले जितेको छ । फाइनलमा किङ्गकम भेट्रान्सलाई शून्यका विरुद्ध १ गोलले हराउँदै बानेश्वर विजेता बनेको हो ।

हेटौडा स्थित पिप्ले क्याम्पा रंगशालामा भएको उपाधि भिडन्तमा बानेश्वरका लागि हरिहर थापाले गरेको एक मात्र गोल टोलीलाई उपाधि जिताउन निर्णायक बन्यो । बानेश्वरका निर्णायक गोलकर्ता हरिहर थापा फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिए ।

विजेता बनेको बानेश्वर भेट्रान्सले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता किङ्गकमले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक बानेश्वरका प्रदिप तण्डुकार चुनिए । उत्कृष्ट डिफेन्डर पनि बानेश्वर कै महेन्द्र खवास बन्दा उत्कृष्ट मिडफिल्डर किङ्गकमका बिपिन शाह चुनिए । त्यस्तै उत्कृष्ट फरवार्ड मानेश्वरका हरिहर थापा बन्दा उत्कृष्ट प्रशिक्षक बानेश्वर कै आदर्श मल्ल बने ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने किङ्गकमका जगतमान लामा घोषित भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामा लगायतले पुरस्कृत गरेका थिए ।

हेटौडा भेट्रान्स क्लब, हेटौडा, मकवानपुरको आयोजनामा गत फागुन २२ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments