News झापा गोल्डकपको टिकट बिक्रीबाट २१ लाख ४६ हजार
रमेश समदर्शी

बिर्तामोड । झापा गोल्डकपको छैटौँ संस्करणको सेमी समिकरण पूरा भइसक्दा अहिलेसम्म टिकट बिक्रीबाट २१ लाख ४६ हजार ९ सय रुपैयाँ संकलन भएको छ । प्रिक्वाटर र क्वाटरफाइनल खेलमा २ सय र सेमिफाइनलमा ३ सय टिकट दर तोकिएको थियो ।

सबैभन्दा बढी झापा ११ र चर्च ब्वाइज युनाइटेडबीचको अन्तिम सेमिफाइनल खेलमा ६ लाख ५० हजार ३ सय रुपैयाँ संकलन भएको झापा गोल्डकपको सचिवालयले जानकारी दिएको छ ।

यसैगरी, उद्घाटन खेलमा संकटा क्लब र एपीएफ एफसीले प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा २ लाख ८५ हजार रुपैयाँ टिकट बिक्रीबाट संकलन भएको थियो । जसमा एपीएफ विजयी भयो ।

दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई पराजित गर्दा टिकट बिक्रीबाट १ लाख १० हजार ९ सय रुपैयाँ संकलन भएको थियो । अहिले चर्च ब्वाइज र एपीएफ गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् ।

तेस्रो खेलमा एपीएफले सर्लाहीको बागमती युवा क्लबलाई पराजित गर्यो । यस खेलमा १ लाख ५ हजार रुपैयाँको टिकट बिक्री भएको थियो । यस्तै, चौथो खेलमा न्यू रोड टिम (एनआरटी)लाई चर्च ब्वाइजले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको थियो । यस खेलमा ९५ हजार ५ सय रुपैयाँ संकलन भएको थियो ।

यस्तै, पाँचौँ खेलमा त्रिभुवन आर्मी एफसीले मच्छिन्द्र एफसीलाई पराजित गर्दा ३ लाख रुपैयाँबराबरको टिकट बिक्री भएको थियो । छैटौँ खेलमा एन्फा मकवानपुरलाई झापा ११ एफसीले पराजित गरेको थियो । उक्त खेलमा २ लाख ५० हजार २ सय रुपैयाँ संकलन भएको सचिवालयले जनाएको छ ।

यसैगरी, पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी र एपीएफबीच प्रतिस्पर्धा भएको थियो । जसमा एपीएफले बाजी मार्दै फाइनलमा प्रवेश गरेको छ । यसै दिन नारी दिवस भएकाले आयोजकले फुटबल खेल हेर्न आउने महिलाहरुलाई निःशूल्क प्रवेश गराएको थियो ।

आर्मी पाँचौपटक उपाधि होडमा थियो तर एपीएफले बाजी मार्दा सेमिफाइनलबाटै बाहिरियो । यस खेलमा ३ लाख ५० हजार रुपैयाँ टिकट बिक्रीबाट संकलन भएको थियो ।

Post Comments