News राष्ट्रिय महिला फुटबल टोली सम्मानित
गोलनेपाल

काठमाडौं । वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली नगदसहित सम्मानित भएका छन् । लोयल्टी एकेडेमीले मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो ।

उनीहरूलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्व मन्त्री सीता गुरुङ र लोयल्टीका संस्थापक निर्देशक विजय साम्बाहाम्फेले सम्मानपत्र र नगदसहित सम्मान गरे । सम्मान वापत टोलीलाई लोयल्टीले तीन लाख ६१ हजार ८ सय रुपैयाँ प्रदान ग¥यो । महिला दिवस अवसर पारेर विद्यालयले महिला सशक्तिकरण र प्रोत्साहन गर्ने उद्देश्यअनुरूप महिला फुटबलरलाई सम्मान गरेको लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जनाएका छन् ।

लोयल्टीले वाफ च्याम्पियनसिप खेल्ने प्रत्येक खेलाडीलाई जनही १० हजार र हरेक गोलबापत थप पाँच हजार रुपैयाँ प्रदान गरेको हो । सो प्रतियोगितामा नेपालकी साबित्रा भण्डारी सर्वाधिक (९ गोल) गोलकर्ता हुन् । विद्यालयले साबित्रालाई ५५ हजार रुपैयाँसहित सम्मान गर्यो ।

सोही टोलीका प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक उज्वल मानन्धर र कमल रखाल, गोलकिपर प्रशिक्षक उज्वल मानन्धर, फिजियोथेरापिस्ट नवीना श्रेष्ठ, अफिसियल सरिला श्रेष्ठ मलेखु, टोली प्रमुख पेमा डोल्मा लामालाई पनि जनही पाँच हजार एक सय रुपैयाँसहित सम्मान गरिएको थियो ।

सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख गर्दै यो सफलताले आममानिसलाई पनि खुसी मिल्ने आशा व्यक्त गरे । उनले खेलाडी बनेर नेपालमा केही गर्छु भन्न कठिनाई रहेको अवस्थामा नेपाली महिला खेलाडीको यो सफलता साह्रानीय रहेको धारणा राखे । गत फेब्रुअरी २९ मा साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुँदा उपाधिविमुख भएको थियो ।

Post Comments