News आयोजक राष्ट्रिय जागृति सेमिफाइनलमा
गोलनेपाल

इटहरी । आयोजक राष्ट्रिय जागृति क्लब, इटहरी जारी कन्ट्रोल लुब्रिकेन्टस १४औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ राष्ट्रिय जागृतिले कञ्चनजंघा फुटबल क्लब, भारतलाई टाईब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

इटहरी रंगशालामा भएको खेलमा निर्धारित समयतर्फ कञ्चनजंघाका लागि खेलको १३औं मिनटमा पुजन सुब्बाले गोल गरेका थिए भने ८६औं मिनटमा नेपोलियनले घरेलु टोली राष्ट्रिय जागृतिका लागि बराबरी गोल फर्काएका थिए ।

खेलमा राष्ट्रिय जागृतिका नेपोलियन म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत चैत १२ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र बिर्तामोड युनाइटेड, झापा बीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत १७ गतेका दनि हुनेछ ।

Post Comments