News इटहरी गोल्डकपः चर्च ब्वाईज सेमिफाइनलमा
गोलनेपाल

इटहरी । चर्च ब्वाईज युनाइटेड क्लब, काठमाडौं यहाँ जारी कन्ट्रोल लुब्रिकेन्टस १४औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो क्वाटरफाइनलतर्फ चर्च ब्वाईजले न्युरोडटिम (एनआरटी) लाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो । इटहरी रंगशालामा भएको खेलमा चर्च ब्वाईजका लागि ३७औं मिनटमा अबायोमी फाकुन्लेले पहिलो गोल गरेका थिए ।

यद्यपि खेलको ८२औं मिनटमा आफिज ओलावालेले एनआरटीका लागि बराबरी गोल फर्काए । तर, एनआरटीले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन । त्यसको दुई मिनट लगतै सुरज जिउ ठकुरीले चर्च ब्वाईजका लागि निर्णायक दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

खेलमा निर्णायक गोल गरेका सुरज जिउ ठकुरी नै म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत चैत १४ गते बुधबारको पहिलो सेमिफाइनल खेल सगरमाथा युथ क्लब, मोरङ र त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत १७ गतेका दनि हुनेछ ।

Post Comments