News सातौं भरौल गोल्डकप शुरु, धरानको विजयी शुरुवात
गोलनेपाल

बराहक्षेत्र । शुक्रबारदेखि शुरु सातौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा धरान फुटबल क्लब, सुनसरीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा धरानले आमुक्त परिवार, भारतलाई २–१ ले हराउँदै विजयी शुरुवात गर्न सफल भएको हो ।

बराहक्षेत्र–५, कालाबञ्जर स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा धरानका लागि दोर्जे तामाङ र एन्सन राईले गोल गरे । पराजित आमुक्त परिवारका लागि कुञ्जमान थापाले गोल गरेका थिए । खेलमा धरानका एन्सन राई म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

यो जितसँगै धरान सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत २४ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक न्यु स्टार फुटबल क्लब, बराहक्षेत्र, सुनसरी र कञ्चनजंघा फुटबल क्लब, भारत बीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की लगायतले गरेका थिए ।

न्यु स्टार क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ३० गतेका दिन हुनेछ ।

 

Post Comments