News भैरव सातौं भूपू सैनिक कपको फाइनलमा
सुरज राना मगर

बुटवल । बिपी स्मृति भैरव स्पोर्टस क्लब, नवलपरासी यहाँ जारी सातौं भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा भैरवले आयोजक भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवललाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि बुटवल–१३, सालघारी स्थित जवई खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ भूपू सैनिकका लागि क्षितिजराज जिटीले गोल गरेका थिए भने भैरवका लागि सुरज आले मगरले गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने भैरवले भूपू सैनिकमाथि ४–३ को जित निकाल्दै फाइनल यात्रा पक्का गर्यो । खेलमा पराजित भूपू सैनिकका गोलरक्षक अमानत शेख म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत चैत २९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल सौभाग्य युवा क्लब, दिपनगर र गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल बीच हुने खेल संयोजक प्रताप रानाले जानकारी दिए ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारी, बेलबासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments