
काठमाडौं (एजेन्सी) । इजिप्टका अन्तर्राष्ट्रिय खेलाडी अहमद रिफातको ३१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । सो कुराको पुष्टी उनकै इजिप्शयन क्लब मोर्डन स्पोर्टसले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत मार्चमा इजिप्शियन प्रिमियर लिग खेल्ने क्रममा पनि अहमदलाई हृदयघात भएको थियो । अल–इतिहाद अलैक्जेड्रिया विरुद्ध खेल्ने क्रममा अहमद ८८औं मिनटमा अचेत भई मैदानमा ढलेका थिए ।
उनलाई अस्पतालको आइसियुमा राखेर उपचार पनि गरिएको थियो । पछि पेसमेकर जडान गरेर उनी गत अप्रिलमा डिस्चार्ज भएका थिए । यद्यपि त्यसपछि पनि अहमदले निरन्तर स्वास्थ्य परिक्षण गराउँदै आईरहेका थिए ।
उनको निधनप्रति विभिन्न क्लबहरुसँगै उनकै राष्ट्रिय टोलीका टिममेट तथा स्टार फरवार्ड मोहमद सलाहले पनि दुःख व्यक्त गरेका छन् । स्मरण रहोस, फरवार्डको भूमिकामा खलेका अहमदले इजिप्टका लागि सात अन्तर्राष्ट्रिय म्याच खेल्दै दुई गोल समेत गरेका थिए ।