News कोपा अमेरिकाः उरुग्वेलाई तेस्रो स्थान, क्यानडा चौथो
गोलनेपाल

काठमाडौं । अमेरिकामा जारी ४८औं संस्करणको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगितामा पूर्व विजेता उरुग्वेले तेस्रो स्थान हासिन गर्दै प्रतियोगिताको सुखद समापन गरेको छ ।

नर्थ क्यारोलिनामा भएको तेस्रो स्थानको प्ले अफ म्याचमा उरुग्वेले क्यानडालाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

खेलको आठौं मिनटमै रोड्रिगो कोलमनको गोलबाट खेलमा उरुग्वे अग्रता बनाए तापनि जित हासिल गर्न भने संघर्ष गर्नुपर्यो । खेलको २२औं मिनटमा इस्माइल कोनेले क्यानडाका लागि बराबरी गोल फर्काए ।

त्यस्तै खेलको अन्तिमतिर ८०औं मिनटमा जोनाथन डेविडले क्यानडाका लागि दोस्रो गोल गर्दा टोली एक समय जितको संघारमा पुगेको थियो । तर अन्तिमतिर इन्जुरी समयमा उरुग्वेका लागि लुइस सुआरेजले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने उरुग्वेसँग क्यानडा निराश बन्यो । स्मरण रहोस, सेमिफाइनलमा क्यानडाले अर्जेन्टिनासँग र उरुग्वेले कोलम्बियासँग हार बेहोरेको थियो । उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्ने कार्यक्रम छ ।

Post Comments