
काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छनौट खेलतर्फ नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडसँग भिड्ने तयारीमा रहेको भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबले उत्कृष्ट लय र तयारी कायम राखेको छ ।
युरोप र अफ्रिकाका केही उत्कृष्ट विदेशी खेलाडीहरुलाई टोलीमा सामेल गरेको पारोले भुटान प्रिमियर लिगतर्फ आफ्नो दशौं खेलमा दागा युनाइटेडलाई ११–१ को फराकिलो अन्तरले हरायो ।
लिगमा दश खेलको समाप्ती हुँदासम्म अपराजित रहेको पारो २८ अंकका साथ शिर्ष स्थानमा छ । साथै दोस्रो स्थानको टोली थिम्पु सिटी फुटबल क्लबभन्दा पाँच अंकले अगाडी समेत छ ।
स्मरण रहोस, एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छनौट खेलतर्फ पारोले यही अगस्त १३ तारीख (साउन २९ गते) का दिन चर्च ब्वाईज युनाइटेडसँग खेल्नेछ । जुन खेल काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछ ।
सोही खेलका लागि हाल चर्च ब्वाईज युनाइटेडले भने आफ्नो तयारीलाई तिव्र पारेको छ । साथै टोलीमा राष्ट्रियस्तरका अधिकांश खेलाडीहरुलाई अनुवन्ध गरी आफ्नो स्क्वाड चुस्त र बलियो बनाउन पनि प्रयासरत छ ।
(Pic: BOB Bhutan Premier League)