काठमाडौं (एजेन्सी) । शुरुवातबाटै उत्कृष्ट प्रदर्शन गर्दै आएको स्पेनले फाइनलमा पनि रोमाञ्चक जित निकाल्दै ३२ वर्षपछि पुरुष ओलम्पिक फुटबलको स्वर्ण जितेको छ । यसअघि स्पेनले अन्तिमपटक सन् १९९२ को ओलम्पिक फुटबलमा स्वर्ण पदक जितेको थियो ।
पेरिसमा भएको उपाधि भिडन्तमा स्पेनले आयोजक फ्रान्सलाई ५–३ ले हराउँदै ऐतिहासिक स्वर्णमाथि कब्जा जमाउन सफल भयो । निर्धारित समयको खेल ३–३ को रोमाञ्चक बराबरीमा टुंगिएपछि खेलको छिनोफानो अतिरिक्त समयबाट सम्भव भएको थियो ।
खेलको ११औं मिनटमा एन्जो मिलोटको गोलबाट फ्रान्सले खेलमा अग्रता बनाएको थियो । तर १८ र २५औं मिनटमा फेर्मिन लोपेजले स्पेनका लागि लगातार दुई गोल गर्दै टोलीलाई खेलमा फर्काए । लगतै २८औं मिनटमा अलेजान्द्रो रोड्रिगेजले गोल गर्दै स्पेनको अग्रता ३–१ को स्थितिमा ल्याए ।
यद्यपि फ्रान्सले खेलमा रोमाञ्चक पूनःरागमन गर्यो । ७९औं मिनटमा माघनेस अक्लुचीले फ्रान्सका लागि दोस्रो गोल फर्काए भने अन्तिमतिर इन्जुरी समयमा जिन–फिलिपे माटेटाले तेस्रो गोल गर्दै खेललाई ३–३ को रोमाञ्चक बराबरीमा ल्याए ।
त्यसपछिको अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कामेलो नायक बने । कामेलोले १०० र १२०+१औं मिनटमा लगातार दुई गोल गर्दै टोलीको सनसनीपूर्ण जित सुनिश्चित गरे ।
- फिफा यु–२० महिला विश्वकपः क्वाटरफाइनलमा उत्तर कोरियासँग ब्राजील र जापानसँग स्पेन स्तब्ध
- फिफा फुटसल विश्वकपः थाइल्याण्ड, अफगानिस्तान विजयी शुरुवात
- फिफा विश्वकप एसियाली छनौटको तेस्रो चरणको खेलहरु शुरु
- सेप्टेम्बरमा शून्य नेपाली अन्तर्राष्ट्रिय फुटबल, रेफ्रीलाई भने अवसर
- मैदानमै ढलेका उरुग्वेका खेलाडीको निधन