
भरतपुर । मोफसलको परिचित र सक्रिय क्लब मध्ये एक हनामी भरतपुर फुटबल क्लब, चितवनको आयोजनामा आगामी असोज ३ गतेदेखि १२ गतेसम्म भरतपुर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
यसवर्ष प्रतियोगिता आयोजना गर्न आवश्यक तयारी र गृहकार्य पनि शुरु गरिसकिएको प्रतियोगिता संयोजक ध्रुव भुषालले बताए । खेल संयोजक भुषालका अनुसार यसअघि क्याम्पाचौरमा भएको प्रतियोगिता यसपटक भरतपुर तालिम केन्द्रमा हुने उनले जानकारी दिए ।
गोल्डेन इमिनेन्ट कोरियन स्टडीको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्ने पनि खेल संयोजक ध्रुव भुषालले बताए । त्यसवाहेक विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताबाट यसपटक ए डिभिजन र मोफसलका गरी कुल १० टोलीहरुको सहभागिता रहने आयोजक भरतपुर फुटबल क्लबका अध्यक्ष लक्ष्मण गुरुङले बताए । जसमा चार ए डिभिजन क्लब र ६ मोफसलका क्लबहरु रहने छन् ।
अध्यक्ष गुरुङ्गका अनुसार यसपटक प्रतियोगितालाई थप सभ्य र भव्य बनाउने योजनामा आफूहरु रहेको सुनाए । साथै प्रतियोगिताबारे आधिकारिक रुपमा विस्तृत जानकारी छिटै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने समेत उनले बताए ।