News झापाः सालबारी र गोलधाप यु-१४ फुटबलको फाइनलमा
रमेश समदर्शी

शनिश्चरे । सालबारी एफसी र गोलधाप युथ क्लब झापाको अर्जुनधारा १० मा जारी १४ वर्षमुनिको फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको दुई सेमिफाइनल खेलबाट उपाधि दाबेदार टोलीको टुंगो लागेको हो । पहिलो सेमिफाइनल खेलमा सालबारीले सेतीपानी टिमसँग २-१ गोलले पराजित भएको थियो ।

तर, सालबारीले सेतीपानीको टिममा १४ वर्षभन्दा माथिको उमेरका तीन खेलाडी खेलाएको भन्दै विरोध पत्र आयोजकसामु बुझाएको थियो ।

आयोजकले छानबिन गर्दा सेतीपानीका खेलाडीको दुरुस्त कागजपत्र नभेटिएको पाइएको भन्दै सालबारीलाई विजेता घोषणा गरेको आयोजक अर्जुनधारा १० नम्बर खेलकुद विकास समितिका अध्यक्ष सुजन थापामगरले जानकारी दिए ।

अन्तिम सेमिफाइनल खेलमा गोलधापले मनास्लु युथ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । गोलधापले ५-४ गोलअन्तरमा मनास्लुलाई पाखा लगाएको हो ।

सुरुवाती अग्रता गोलधापले लिएको थियो । २-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै मनास्लुले २-२ गोलको बराबरी गरे पनि टाइब्रेकरमा पराजित हुन पुग्यो ।

अर्जुनधारा १० नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजारसहित ट्रफी पाउने छ ।

Post Comments