News सराई एफसी र भैरहवालाई सफलता
सुरज राना मगर

बुटवल । यहाँ जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगितातर्फ सोमबार सराई एफसी, पाल्पा र भैरहवा–११ ले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

बुटवल–७ दिपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा भएको खेलमा सराईले सयपत्री युवा क्लबलाई २–१ ले हराउँदा भैरहवाले सम्पूर्ण एफसीलाई समान २–१ ले निराश तुल्यायो ।

सराईको जितमा दुवै गोल अनिल गाहाले गरे भने उता पराजित सयपत्रीका लागि रोशन घतानेले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सराई एफसी कै अनिल गाहा घोषित भए ।

त्यस्तै अर्को खेलमा भैरहवाको जितमा सुबिन बिक र सरुण थापाले गोल गरे । पराजित सम्पूर्ण एफसीका लागि कमल गुरुङले गोल फर्काएका थिए । खेलमा भैरहवाका जितेश गुरुङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंसिर २३ गतेको पहिलो खेल नव एकता युवा क्लब र केरवानी एफसीबीच हुनेछ भने दोस्रो खेलमा चाँदनी युवा क्लब र फर्साटिकर युवा क्लब भिड्ने छन् ।

सौभाग्य युवा क्लब, बुटवल–७ दिपनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल पुष ५ गतेका दिन हुनेछ ।

Post Comments