News न्यु ईरा र अमुवा क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । न्यु ईरा एफसी र अमुवा एफसी बुटवलमा जारी तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको प्रिक्वाटरफाइनल खेलतर्फ न्यु ईराले फर्साटिकर एकेडेमीलाई २–१ ले हरायो । न्यु ईराको जितमा दुवै गोल सुमन केसीले गरे । केसी नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

उता खेलको अन्तिमतिर न्यु ईराका खेलाडीले बक्स भित्र ह्याण्डबल गरेपछि फर्साटिकर एकेडेमीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई फर्साटिकर एकेडेमीका लागि कप्तान आयुष आचार्यले कुनै गल्ती नगरी पेनाल्टीबाट गोलमा परिणत गरेका थिए ।

अमुवालाई पेनाल्टीको साहारा

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा अमुवा एफसीले द ग्रेस युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

नियमित समयतर्फ अमुवाका लागि अभय क्षेत्रीले गोल गरेका थिए भने उता द ग्रेसका लागि ऋषि थापाले गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच भने अमुवाका सुरज थारु घोषित भए ।

मंगलबार म्यान अफ द म्याच बनेका खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वडा सदस्य देवी प्रसाद काफ्ले पुरस्कृत गरेका थिए । सो अवसरमा वडा सदस्य काफ्लेले स्थानीय स्तर मै रानीगञ्ज युवा क्लबले फुटबल खेललाई निरन्तरता दिन सकेकोमा बधाई दिनुका साथै सफलताको शुभकामना पनि दिए ।

बुधबारको खेल

प्रतियोगिता अन्तरगत मंसिर २४ गते बुधबारको खेल सुनौलो संगम युवा क्लब र सौभाग्य युवा क्लबबीच हुने खेल संयोजक आशिष पाडेले बताए ।

रानीगञ्ज युवा क्लब, बुटवल–१७ रानीगञ्जको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धन बहादुर ठकुरीले जानकारी दिए ।

त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष ठकुरीले बताए । कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष ४ गतेका दिन हुनेछ ।

Post Comments