News फर्साटिकरको जितमा कप्तान सुजनको निर्णायक गोल
सुरज राना मगर

बुटवल । कप्तान सुजन रानाले निर्णायक गोल गरेपछि फर्साटिकर युवा क्लब बुटवलमा जारी तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको अन्तिम प्रिक्वाटरफाइनल म्याचतर्फ फर्साटिकरले मैत्री युवा क्लबलाई १–० को झिनो अन्तरले हरायो । 

फर्साटिकरका लागि १६औं मिनटमा बक्स नजिकैबाट कप्तान सुजन रानाले गरेको कडा प्रहार एक मात्र निर्णायक गोलमा परिणत भएको थियो । बिहीबारको खेलको म्यान अफ द म्याच भने पराजित मैत्री युवा क्लबका नर थापा घोषित भए । उनलाई आयोजक रानीगञ्ज युवा क्लबका सचिव टंक प्रसाद न्यौपानेले पुरस्कृत गरे ।

बिहीबारको खेलसँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत मंसिर २६ गते शुक्रबारको पहिलो क्वाटरफाइनल खेल सौभाग्य युवा क्लब र हरिहर एफसीबीच हुने खेल संयोजक आशिष पाडेले बताए । 

रानीगञ्ज युवा क्लब, बुटवल–१७ रानीगञ्जको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धन बहादुर ठकुरीले जानकारी दिए ।

त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष ठकुरीले बताए । कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने पौष ४ गतेका दिन हुनेछ । 

Post Comments