News आयोजक भरतपुर १८ लाई उपाधि
गोलनेपाल

चितवन । यहाँ सम्पन्न प्रथम सेन्ट्रल कलेज भरतपुर १८ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक भरतपुर १८ ले नै जितेको छ ।

बुधबार सम्पन्न फाइनलमा भरतपुर १८ ले सेन्ट्रल कलेज २८ बिगाहा क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । आयोजकको जितमा खेलको १३औं मिनटमा जोन ग्लोरीले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

विजेता बनेको भरतपुर १८ ले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता २८ बिगाहाले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । सुमित श्रेष्ठ फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।

अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक भरतपुर १८ का अनिष देवकोटा बन्दा उत्कृष्ट डिफेन्डर २८ बिगाहाका कुलदिप कार्की चुनिए । उत्कृष्ट मिडफिल्डर भरतपुर १८ का रोजल दहाल चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार भरतपुर १८ कै जोन ग्लोरीले हात पारे ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक विजेता भरतपुर १८ कै मनकाजी गुरुङ बन्दा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भरतपुर १८ का आकाश थापा मगर घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

Post Comments