काठमाडौं । आफ्नो पहिलो खेलमा भुटानसँग बराबरीमा रोकिएको आयोजक नेपालले साफ महिला च्याम्पियनसिपतर्फ सोमबार दोस्रो खेलमा माल्दिभ्सलाई ११–० को फराकिलो अन्तरले हराएको छ ।
समूह बी मा रहेको नेपाललाई जित दिलाउन रेखा पौडेल एक्लैले ह्याट्रिकसहित पाँच गोल गरिन् । त्यस्तै प्रिती राईले पनि तीन गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने अनिता केसी, सबिता राना मगर र अमिषा कार्कीले समान १–१ गोल गरे ।
यो जितसँगै नेपालले सेमिफाइनल प्रवेशको सम्भावनालाई थप बलियो बनाएको छ । दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी को शिर्ष स्थानमा छ । त्यस्तै सोमबार नै श्रीलंकामाथि १–४ को जित निकालेको भुटान समान ४ अंकका साथ दोस्रो स्थानमा छ । तीन अंक जोडेको श्रीलंका तेस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा र समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरणतर्फको अन्तिम खेलहरुमा अब बिहीबार नेपालले श्रीलंकाको सामना गर्नेछ भने भुटानले माल्दिभ्ससँग खेल्नेछ । सम्भवतः समूह बी बाट नेपालसँगै भुटानको पनि सेमिफाइनल प्रवेशको सम्भावना बलियो देखिएको छ ।