
मेचीनगर । पाहुना टोली भारतको सुकुना युनाइटेड एफसीमाथि सहज जित निकाल्दै मोरङको सम्राट स्पोर्टिङ क्लब झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज धुलाबारी माविको खेल मैदानमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा छरितो र उत्कृष्ट खेल खेल्दै सम्राट अन्तिम चारमा प्रवेश गरेको हो । सम्राटले सुकुनालाई ५-२ गोल अन्तरले हराएको हो ।
खेलको छैटौँ र ३८औँ मिनेटमा सम्राट स्पोर्टिङका लागि उमेश कार्कीले गोल गरे । त्यस्तै, १२औँ मिनेटमा भुवन बस्नेतले एक गोल गरे भने खेलको अतिरिक्त समयमा दोर्जे तामाङ र अञ्जन ठकुरीले एक-एक गोल गरे ।
सुकुना युनाइटेडका लागि खेलको १३औँ मिनेटमा शौरभ विश्वास र ५२औँ मिनेटमा हेमराज भुजेलले एक-एक गोल फर्काए । उनीहरुका भरपर्दा खेलाडी लाक्पा तामाङ खेलको अन्तिम १० मिनेटमा घाइते भएका थिए ।
माेरङकाे पेनाल्टी एरियामा सम्राटका गोलरक्षकसँग ठोक्किँदा उनी चोटिल बनेका थिए । तर, उनको स्थानमा कोही परिवर्तित खेलाडी नभएका कारण १० खेलाडीमै सुकुना सीमित बनेको थियो । यस समय खेलको स्थिति ३-२ को अवस्थामा थियो ।
खेलको प्लेयर अफ द म्याच सम्राट स्पोर्टिङका दुई गोलकर्ता उमेश कार्की भए । उनले नगद पाँच हजार र ट्रफी पाए । उनलाई रोलिङ क्लबका पूर्वअध्यक्ष शंकर बस्नेत र खेलप्रेमी विष्णु बुढाथोकीलगायतले नगद तथा ट्रफी प्रदान गरे ।
भोलि हुने अन्तिम क्वार्टरफाइनल खेल विराटनगरस्थित नेपाल प्रहरीको टिम र रेड हर्स एफसी इलामबीच हुने आयोजक रोलिङ क्लबका सचिव महेश खड्काले जानकारी दिए ।