कोल्हुवा । विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं यहाँ जारी सातौं राइनो गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको तेस्रो क्वाटरफाइनलतर्फ एपीएफले नमुना फुटबल क्लब, कावासोतीलाई ३-० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
राईनो रंगशालामा भएको खेलमा एपीएफका लागि कप्तान युवराज खड्का र प्रदिप लामाले गोल गरे । थप एक गोल भने नमुनाका मोहित गुरुङले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।
खेलमा एपीएफका प्रदिप लामा म्यान अफ दि म्याच चुनिए । एपीएफले सेमिफाइनलमा देशभक्त युवा क्लब, नवलपरासीको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत कार्तिक १० गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल नमोबुद्ध युवा क्लब, सप्तरी र इलेभन स्टार फुटबल क्लब, भारत बीच हुने आयोजकले जानकारी दियो ।
राईनो क्लब, मध्यविन्दु९४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो कार्तिक १४ गतेका दिन हुनेछ ।