News आयोजक भरौल भेट्रानलाई उपाधि
गोलनेपाल

बराहक्षेत्र । तेस्रो भरौल भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक भरौल भेट्रान क्लब, सुनसरीले नै जितेको छ ।

फाइनलमा भोजपुर भेट्रान क्लब, भोजपुरलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै भरौल विजेता बनेको हो । दोस्रो हाफको सातौं मिनटमा सरण चौधरीले गरेको एक मात्र गोल भरौललाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।

विजेता बनेको भरौलले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता भोजपुरले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । भरौलका भुपेन लिम्बु फाइनल खेलको म्यान अफ दि म्याच बने । त्यसापत उनले नगद २१०० र ट्रफी हात पारे ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक भरौल कै रुपक गुरुङ्ग चुनिदा उत्कृष्ट डिफेन्डर पनि भरौलका सरण चौधरी बने । उत्कृष्ट मिडफिल्डर भोजपुरका डेनिस राई बन्दा उत्कृष्ट प्रशिक्षक भरौलका संजिव बस्नेत चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने भोजपुरका सुरज श्रेष्ठले हात पारे । उत्कृष्ट बनेका सबैले जनही २१००–२१०० र ट्रफी हात पारे ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भरौल भेट्रानका बिष्णु सुनुवार घोषित भए । त्यसवापत उनले नगद ३१०० र ट्रफी हात पारे । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र खेलकुद विकास समिति, सुनसरीका संयोजक कपिल आचार्यले पुरस्कृत गरेका थिए ।

भरौल भेट्रान क्लब, बराहक्षेत्र–५, कालाबञ्जर, सुनसरीको आयोजनामा पुस २२ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल नौ (९) टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments