News कतारः पेट्रोलाई तेस्रो सिएफसी कपको उपाधि
गोलनेपाल

काठमाडौं । कतारमा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित कलेक्शन फुटबल क्लब (सिएफसी), दोहाको आयोजनामा सम्पन्न तेस्रो सिएफसी कप फुटबल प्रतियोगिताको उपाधि पेट्रो फुटबल क्लबले जितेको छ ।

दोहा स्टेडियममा सम्पन्न फाइनलमा पेट्रोले आयोजक सिएफसी (रातो) लाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । विजेता बनेको पेट्रोले उपाधिसहित नगद ६,६६६ कतारी रियाल हात पार्दा उपविजेता सिएफसी (रातो) ले ४,४४४ कतारी रियालसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विधागततर्फ पेट्रोका सुरेश विश्वकर्मा उत्कृष्ट गोलरक्षक बन्दा उत्कृष्ट डिफेन्डर सिएफसीका आशिष पच्कोटी चुनिए । उत्कृष्ट मिडफिल्डर पेट्रोका रोशन मेचे चुनिदा उत्कृष्ट फरवार्ड पनि पेट्रोका गणेश हेमरन बने । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार आयोजक सिएफसीका विवश राई बन्दा उदियमान खेलाडी पनि आयोजक कै राज राई चुनिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने आयोजक सिएफसीका राजकुमार चौधरी घोषित भए । फेयर प्ले अवार्ड रसलाफान एफसीले हात पार्यो । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही ३०१ कतारी रियाल र ट्रफी हात पारे ।

त्यसैगरी समापन कार्यक्रम कै अवसर पारी तेस्रो स्थानका लागि भएको खेलमा सिएफसी भेट्रानले वक्रा भेट्रानलाई पेनाल्टी शुटआउटमा हराउँदै तेस्रो टोली बन्न सफल भयो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कतारका लागि नेपाली राजदुत रमेशचन्द्र पौडेल, आयोजक सिएफसीका अध्यक्ष देव नारायण चौधरी लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments