
झापा । बिर्तामोडमा प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगर खेलकूद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ ।
यही माघ २६ देखि फागुन ५ गतेसम्म प्रतियोगिता आयोजना गरिने आयोजकले बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । महिला खेलाडीहरुको उत्पादनमा सहयोग पुराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले बताए ।
अध्यक्ष गिरीका अनुसार नगर खेलकूद समितिले तालिम तथा खेलकुद सम्बन्धी प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा बिर्तामोड, अर्जुनधारा, कनकाई, मेचीनगर, भद्रपुर, दमक, शिवसताक्षी नगर र झापा, कमल र बुद्धशान्ति गाउँपालिकाको सहभागिता रहने आयोजले जनाएको छ ।
प्रतियोगिताका लागि ३४ लाख ६६ हजार अनुमानित खर्च हुने अध्यक्ष गिरीले बताए । डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउने छ ।
प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष गिरीको संयोजकत्वमा आर्थिक समिति, सन्तोष गुरुङको संयोजकत्वमा खेलमैदान ब्यवस्थापन, विशाल अग्रवालको संयोजकत्वमा प्रचारप्रसार, गणेश कटुवालको संयोजकत्वमा खेलाडी ब्यवस्थापन, रमेश उप्रेतीको संयोजकत्वमा मञ्च ब्यवस्थापन र आशा गुरुङको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको बताइएको छ ।
