
कोहलपुर । राईजिङ स्टार फुटबल क्लब, नवलपरासी यहाँ जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ राइजिङ स्टारले सहारा फुटबल क्लब, लखनउ, भारतलाई सडन डेथमा हराउँदै अन्तिम चारमा स्थान बनाउने दोस्रो टोली बनेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा राइजिङ स्टारका गोलरक्षक प्रतिक सुनार म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १९ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौं र राईनो फुटबल क्लब, नवलपुरबीच हुने आयोजकले जानकारी दियो ।
कोहलपुर रेसिङ सहारा फुटबल क्लब, कोहलपुर, बाँकेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २४ गतेका दिन हुनेछ ।