
बुटवल । राष्ट्रियस्तरका खेलाडीहरुले भरिएको प्रतिस्पर्धात्मक खेलमा फूलबारी गाईजले रोमाञ्चक जित निकाल्दै जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुद्धोदन गाउँपालिका–४, बर्मेली टोल स्थित फर्साटिकर माविको खेलमैदानमा सोमबार भएको प्रतिस्पर्धात्मक तेस्रो क्वाटरफाइनलमा फूलबारीले अर्को बलियो टोली विश्व शान्ती युवा क्लब, सालझण्डीलाई टाइब्रेकरमा ४–२ ले हरायो ।
यसअघि निर्धारित समयको निकै प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेल शुरु भएको आठौं मिनट मै अनिश तामाङको लामो फ्रिकिक प्रहार विश्व शान्तीका गोलरक्षकले सही अनुमान लगाउन नसक्दा सिधै पोष्टमा छिरेपछि फूलबारीले शुरुवाती अग्रता बनाएको थियो ।
पहिलो हाफमा फूलबारी केही हावी देखिए तापनि दोस्रो हाफमा भने विश्व शान्ती खेलमा फर्किएको थियो । ६६औं मिनटमा विश्वास श्रेष्ठले क्लोज रेन्जबाट गरेको प्रहार गोलमा परिणत हुँदा खेल १–१ को स्थितिमा आएको थियो ।
निर्धारित समयतर्फ नै फूलबारीका कप्तान सबी गुरुङले पाएको दुई सुन्दर अवसरलाई सदुपयोग गर्न सकेनन् । उता विश्व शान्तीका विश्वास श्रेष्ठले पनि लक्ष्मण रुचालले मिलाइदिएको बक्स भित्रको सुनौलो अवसरलाई वान भर्सेस वानको स्थितिमा क्रसबार बाहिर फालेका थिए ।
पेनाल्टी शुटआउटमा भने विश्व शान्तीको दुई प्रहार फूलबारीका अनुभवी गोलरक्षक अमानत शेखले आकर्षक रुपमा जोगाउँदै टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए ।
पेनाल्टीमा निर्णायक बनेका फूलबारीका गोलरक्षक शेख खेलको म्यान अफ द म्याच समेत चुनिए । उनलाई आयोजक फर्साटिकर युवा क्लबकै अध्यक्ष मुकेश कुँवरले पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत पुष २१ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल चाँदनी युवा क्लब, दानापुर र वाणगंगा वेलफेयर सोसाईटी, कपिलवस्तुबीच हुने खेल संयोजक टेकु भण्डारीले जानकारी दिए ।
फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुष २५ गतेका दिन हुनेछ ।