टाइब्रेकरमा भाग्यमानी बन्दै नमो बुद्ध युथ क्लब सप्तरी यहाँ जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडविरुद्ध टाइब्रेकरमा भाग्यमानी बन्दै नमो बुद्ध उपाधि नजिक पुगेको हो । ९० मिनेटको निर्धारित समयमा दुवै टिमले २-२ गोलको बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।
टाइब्रेकरमा सप्तरीले ४-२ गोलअन्तरले जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । टाइब्रेकरमा सप्तरीका लागि विवेक गुरुङ, आयुष मगर, अनिल मगर र विवेक राईको प्रहार गोलमा परिणत भएको थियो ।
चर्च ब्वाइजका लागि विदेशी खेलाडी र सागर तिरुवाको प्रहारमात्र गोलमा परिणत हुँदा अभिषेक महतो र फोफोनाको प्रहार सप्तरीका गोलरक्षक जयरथ शेखले रोकेका थिए । यसअघि खेलको ३३औँ मिनेटमा सप्तरीका जेनिश प्रजापतिले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा चर्च ब्वाइजका ध्रुव राईले गोल गर्दै बराबरीमा ल्याएका हुन् । यस्तै, ६१औँ मिनेटमा सप्तरीका जेनिशले फेरि गोल गर्दै २-१ को स्थितिमा ल्याए पनि चर्च ब्वाइजका राज भुषालले खेलको ८५औँ मिनेटमा गोल गरेर बराबरी बनाए ।
खेलको प्लेयर अफ दि म्याच दुई प्रहार रोकेका सप्तरीका गोलरक्षक जयरथ शेख बने । उनले नगद ७ हजार ५ सय पाए । सप्तरीको जितसँगै मच्छिन्द्र एफसीसँग फाइनलमा भेट पक्का गरेको छ । पाँचथर क्लबले आयोजना गरेको गोल्डकपको विजेताले नगद ११ लाख १ हजार र उपविजेताले नगद ५ लाख ५५ हजारसहित ट्रफी पाउने छ । फाइनल खेल चैत २ गते हुनेछ ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात