भैरहवा । उत्कृष्ट जित हात पार्दै फर्साटिकर युवा क्लब, फर्साटिकर जारी ३०औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
बिहीबार भएको पहिलो क्वाटरफाइनलतर्फ फर्साटिकरले न्यु स्टार फुटबल क्लब, भैरहवालाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
फर्साटिकरको जितमा गणेश हमालले दुई गोल गर्दा बिबेक थारु र मनिष थापाले समान एक–एक गोल गरे । खेलमा दुई गोल गरेका फर्साटिकरका गणेश हमाल म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत चैत्र २२ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल न्यु सृजना युवा क्लब, करौजिया र भैरव स्पोर्टस क्लब, नवलपरासीबीच हुने खेल संयोजक दिपक थापा (कुमार) ले जानकारी दिए ।
माछापुच्छ्रे क्लब, सिद्धार्थनगर–२ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष युवराज थापाले बताए । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।