Province 1 गोर्खा ब्वायज भोजपुर गोल्डकपको च्याम्पियन, अफ्रिकन स्तब्ध
गोलनेपाल

भोजपुर । शनिबार सम्पन्न चौथो भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि गोर्खा ब्वायज स्पोर्टस क्लब, रुपन्देहीले जितेको छ ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा गोर्खा ब्वायजले अफ्रिकनलाई १–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । यद्यपि गोर्खा ब्वायजले जितका लागि भने निकै संघर्ष गर्नुपरेको थियो ।

टुंडिखेल मैदानमा भएको ८० मिनटको फाइनल खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थप १५ मनिट अतिरिक्त समय थपिएको थियो । थपिएको अतिरिक्त समयको ८०+६औं मिनटमा पेपेले एक मात्र निर्णायक गोल गर्दै गोर्खा ब्वायजलाई च्याम्पियन बनाए ।

फाइनल खेलको म्यान अफ द म्याच गोर्खा ब्वायजका गौरव श्रेष्ठ घोषित भए । उनले त्यसवापत नगद ३५ सय र ट्रफी हात पारे । विजेता बनेको गोर्खा ब्वायजले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता अफ्रिकनले ३ लाखमा चित्त बुझायो ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा गत बैशाख ५ गतेदेखि शुरु प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए । विजयी खेलाडीहरुलाई भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

व्यक्तिगत विधामा पनि गोर्खा ब्वायज कै वर्चश्व

प्रतियोगिताको व्यक्तिगत विधातर्फ पनि च्याम्पियन गोर्खा ब्वायज कै वर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक गोर्खा ब्वायजका अरुण लामा घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि गोर्खा ब्वायज कै मनोज श्रेष्ठ चुनिए ।

उत्कृष्ट मिडफिल्डर भने अफ्रिकनका एन रोनाल्डो घोषित भए । त्यस्तै उत्कृष्ट प्रशिक्षकको पुरस्कार गोर्खा ब्वायजका दयाराम सापकोटाले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५ हजार र ट्रफी हात पारे ।

 

 

Post Comments