Province 1 सुनसरी जिल्ला लिग शुरु, गोंधुली र न्यु स्टारको विजयी शुरुवात
गोलनेपाल

इटहरी । यहि पौष १५ गते बिहीबारदेखि शुरु सुनसरी जिल्ला लिग फुटबल प्रतियोगितामा गोंधुली फुटबल क्लब र न्यु स्टार क्लबले विजयी शुरुवात गरेका छन् ।

इटहरी क्षेत्रीय रंगशालामा भएको उद्घाटन खेलमा गोंधुलीले इलेभन एरोज क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । गोंधुलीको जितमा खेलको ६३औं मिनटमा सुशिल राई र ७९औं मिनटमा दिपक गिरीले गोल गरे ।

खेलमा गोंधुली कै सबिन राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । यो जितसँगै गोंधुलीले महत्वपूर्ण ३ अंक समेत जोड्यो ।

त्यस्तै बिहीबार नै भएको दोस्रो खेलमा न्यु स्टारले गोल्डेन स्टार क्लबलाई १–० ले हरायो । ६८औं मिनटमा सुजित राईले एक मात्र निर्णायक गोल गरे । खेलमा न्यु स्टार कै सन्तोष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय प्राप्त गरे ।

त्यसअघि प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष किशोर राईले गरेका थिए । सुनसरी जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा कुल आठ टोलीहरु सहभागि छन् ।

सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । लिग कम नकआउटका आधारमा चल्ने प्रतियोगिताको प्रायोजन नेपाल आइस बियरले गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को संयोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल पौष २५ गतेका दिन हुनेछ ।

Post Comments