
दुहबी । झिनो अन्तरको जित निकाल्दै झापा–११, झापा यहाँ जारी नवौं भलुवा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
भलुवा फुटबल मैदानमा शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ झापाले रारा फुटबल क्लब, धनकुटालाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । खेलको ११औं मिनटमा प्रताप बुढाथोकीले गरेको एक मात्र गोल झापालाई जित दिलाउन निर्णायक गोल बन्यो ।
निर्णायक गोलकर्ता बुढाथोकी नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत जेठ १३ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल बिरगंज युनाइटेड, पर्सा र युनाइटेड खर्साङ एफसी, भारतबीच हुने आयोजकले जानकारी दियो ।
गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २० गतेका दिन हुनेछ ।