विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
गोलनेपाल

काठमाडौं । Falcon FC Open Futsal Tournament को उपाधि जित्दै हिमालयन फुटबल क्लबले खेलकुदसँगै सामाजिक उत्तरदायित्वको पनि उदाहरण प्रस्तुत गरेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको हिमालयन एफसीले प्राप्त गरेको विजयी पुरस्कार रकम र क्लबका सदस्यहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको सहयोग रकमसमेत थप गरी रसुवामा बाढीका कारण प्रभावित तथा क्षतिग्रस्त परिवारहरूको सहयोगका लागि प्रदान गर्ने निर्णय गरेको हो।

क्लबका अनुसार मैदानमा हासिल गरेको सफलता केवल ट्रफी र पुरस्कारमा सीमित नरहोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो। खेलबाट प्राप्त खुसीलाई कठिन परिस्थितिमा रहेका परिवारहरूसँग बाँड्दै ‘जितसँगै सहयोग’ को भावना अघि बढाउने क्लबको उद्देश्य रहेको छ।

“हुन सक्छ, हाम्रो सहयोगको रकम ठूलो नहोला। तर यसमा खेलाडीहरूको पसिना, मेहनत, क्लब परिवारको माया, साथ र सद्भावना जोडिएको छ,” क्लबले जनाएको छ।

हिमालयन एफसीले खेल केवल जित र हारको विषय नभएको बताउँदै खेलकुदले अनुशासन, एकता र प्रतिस्पर्धासँगै समाज तथा मानवतालाई जोड्ने माध्यमका रूपमा पनि काम गर्ने विश्वास व्यक्त गरेको छ।

क्लबका लागि यो पहल एउटा सामाजिक सहयोग मात्र नभई खेलाडी, क्लब र समाजबीचको सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास समेत हो।

“सहयोग ठूलो हुनुपर्छ भन्ने होइन, मन ठूलो हुनुपर्छ। कठिन समयमा गरिएको सानो सहयोगले पनि कसैको जीवनमा आशा, भरोसा र मुस्कान ल्याउन सक्छ,” क्लबले आफ्नो सामाजिक अभियानबारे भनेको छ।

हिमालयन एफसीले विगतदेखि नै फुटबल तथा फुटसल गतिविधिसँगै सामाजिक तथा सामुदायिक कार्यलाई पनि प्राथमिकतामा राख्दै आएको बताउँदै आगामी दिनमा समेत खेलकुदमार्फत समाजमा सकारात्मक योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Post Comments