Province 3 शिर्षताको दौडमा सातदोबाटो अगाडी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ शुक्रबार शिर्षताको होडमा रहेका दुई टोलीबीचको भिडन्तमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटोले दशौं मिनटमा दोर्जे तामाङको पेनाल्टी गोलबाट अग्रता लिन सफल भएको थियो । सातदोबाटोका भुवन बस्नेतलाई विपक्षी खेलाडीले बक्स भित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई तामाङले सहजै गोलमा परिणत गरेका थिए ।

तर सातदोबाटोले त्यो अग्रता धेरैबेर जोगाउन सकेन । उता २६औं मिनटमा सबिन केसीले खुमलटारका लागि बराबरी गोल फर्काए । त्यस्तै दोस्रो हाफ शुरु भएको तेस्रो मिनट मै खुमलटारका लागि आदिल हामिदले दोस्रो गोल गर्दै टोलीलाई खेलमा २–१ को अग्रता दिलाए ।

यद्यपि खुमलटारले पनि त्यो गोलको खुशी धेरैबेर मनाउन सकेन । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका आशिष राईले सातदोबाटोका लागि दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए भने भुवन बस्नेतले तेस्रो गोल थप्दै सातदोबाटोको रोमाञ्चक जित सुनिश्चित गरे ।

यो जितसँगै सातदोबाटोले तीन अंकको स्पष्ट अग्रता बनाएको छ । ७ खेलबाट १९ अंक जोडेको सातदोबाटो शिर्ष स्थानमा छ । उता पराजित खुमलटार भने १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

मध्यपुरको पहिलो जित

लिग अन्तरगत शुक्रबार नै भएको अर्को खेलमा मध्यपुर युथ एसोसिएशनले लिगमा पहिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्स् मै सम्पन्न खेलमा मध्यपुरले टुसाल युथ क्लबलाई २–० ले हरायो ।

यो जितसँगै ७ खेलबाट ४ अंक जोड्न सफल मध्यपुर लिगतालिकाको ११औं स्थानमा छ । टुसाल भने ८ अंकका साथ सातौं स्थानमा रहेको छ ।

(तस्विरः एन्फा)

Post Comments