Province 3 नौ गोलको ‘थ्रीलर’मा बिराटनगरमाथि रेजर्सको जित
गोलनेपाल

काठमाडौं । नेपाल सुपर लिगतर्फ बिहीबार गोलको बर्षा भएको खेलमा काठमाडौं रेजर्सले बिराटनगर सिटी एफसीमाथि ५–४ को जित निकाल्दै शिर्षताको होडमा आफ्नो चुनौति कायम राखेको छ ।

दशरथ रंगशालामा भएको खेलमा रेजर्सका लागि मेसुके ओलुमुले हयाट्रिक गरे । शुरुवाती दुई गोलको अग्रता जोगाउन नसकेको बिराटनगरले अन्ततः रेजर्ससँग हारको सामना गर्न बाध्य भयो ।

खेल शुरु भएको पाँचौं मिनटमै अडिलेजाको गोलबाट बिराटनगरले खेलमा अग्रता बनाएको थियो । ३३औं मिनटमा पेड्रो मान्जीले त्यो अग्रता दोब्बर पारे । यद्यपि खेलमा उत्कृष्ट पूनःरागमन गरेको रेजर्सका लागि ३५ र ३६औं मिनटमा मेसुकेले लगातार दुई गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

त्यस्तै ४१औं मिनटमा स्टेफन बिनोङ्गले रेजर्सका लागि तेस्रो गोल गरे । तर खेलको रोमाञ्चक त्यतिमै रोकिएन । ६७औं मिनटमा रेजर्सका लागि मेसुकेले नै चौथो गोल गर्दै आफ्नो ह्याट्रिक पनि पूरा गरे । उता ७८औं मिनटमा बिराटनगरका लागि रन्जित धिमालले तेस्रो गोल फर्काउँदा पुर्वेली टोली फेरि हौसिएको थियो ।

दोस्रो हाफको अन्तिमतिर थप रोमाञ्चक बनेको खेलको ८२औं मिनटमा रेजर्सका लागि छिरिङ गुरुङले पाँचौं गोल थपे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता अन्तिमतिर इन्जुरी समयमा बिराटनगरका लागि पेड्रोले चौथो गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।

खेलमा ह्याट्रिककर्ता मेसुके नै सुपर प्लेयर अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद २५ हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर समेत हात पारे ।

यो जितसँगै ५ खेलबाट १० अंक जोडेको रेजर्स दोस्रो स्थानमा छ र लिगलिडर धनगढीसँग अंक बराबरी गर्दै शिर्षताको होडमा आफ्नो दावेदारीतालाई पनि कायम राखेको छ । उता पराजित बिराटनगर भने ७ अंकका साथ तेस्रो स्थानमा झरेको छ ।

ललितपुरको पहिलो जित

त्यस्तै बिहीबार नै भएको पहिलो खेलमा ललितपुर सिटी एफसीले सुपर लिगमा आफ्नो पहिलो जित दर्ता गर्यो । दशरथ रंगशाला मै सम्पन्न खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीमाथि १–० को साँघुरो जित दर्ता गर्यो ।

ललितपुरको जितमा खेल शुरु भएको छैटौं मिनटमै नुरलान जाहिदले गरेको एक मात्र गोल निर्णायक बन्यो । यो जितपछि ५ खेलबाट ६ अंक जोडेको ललितपुर लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित बुटवल भने ५ अंकका साथ पाँचौं स्थानमा छ ।

सुपर लिग अन्तरगत बैशाख २४ गते शुक्रबारको खेल पोखरा थन्डर्स र पुछारमा संघर्षरत एफसी चितवनबीच हुने आयोजकले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ ।

Post Comments