Province 3 २०११ को ९ गोल र फेरिएको नेपाली टिम - के नेपालले जोर्डन सँग उत्कृष्ट प्रदर्शन गर्ला ?
गोलनेपाल

९-० गोल अन्तरको त्यो लज्जास्पद हार तर आजको फरक परिस्थिति ।

नेपालले अब वल्र्डकप क्वालिफायर अन्तर्गतको आफ्नो ७ औं खेल त्यही जोर्डन टिम विरुद्ध खेल्दै छ जसले आज भन्दा १० वर्ष पहिले नेपाली टिमको जालीमा गोलको बर्सात गरेको थियो । जोर्डन फुटबल टिम नेपाली टिम भन्दा तुलनात्मक रूपमा निकै बलियो छ, फिफा वरियतामा, खेल्ने शैलीमा र शारीरिक रूपमा पनि अब्बल छ । तर फुटबलमा 'मोमेन्टम' ले निकै प्रभाव पार्ने गर्छ ।

यसपटक युवा खेलाडी, नयाँ प्रशिक्षक, प्रशिक्षकको आकर्षक शैली र मनोवृत्तिले गर्दा नेपाली टिमको भिन्न स्वरूप देख्न पाइएको छ । त्यो भिन्नता हामीले इराक र चाइनिज ताईपे विरुद्धको खेलमा देखिसकेका छौं । यी कारणले गर्दा मोमेन्टम कुन टिमसँग छ, त्यो भनि रहनु नपर्ला ।
 
फिफा वरियतालाई नै आधार मान्ने हो भने त त्यति बेलाको नेपाली टिम र अहिलेकोमा खासै फरक छैन, बरु अहिलेको नेपाली टिम २०११ को ९-० को लज्जास्पद हार बेहोरेको टिम भन्दा अझ खस्कँदो छ ।  त्यति बेलाको आश्चर्य लाग्ने कुरा त के भने भारत १५३ औँ स्थानमा रहँदा नेपाल १३६ औँ स्थानमा थियो । यस्तै, जोर्डन भने ९१ औँ स्थानमा थियो । छिमेकी भारतले फड्को मारिरहेको अवस्था थियो तर नेपाली खेलाडीको प्रदर्शन दिनानुदिन ओरालो लाग्दै गयो । कति खेलाडी त म्याच फिक्सिङको आरोप लागेका कारण राष्ट्रिय टिमबाट सधैंका लागि विदा भए, एन्फाको विवाद उत्कर्षमा पुगेको थियो र भूकम्पले दसरथ रंगशालालाई क्षति पुर्याएको थियो । यी विविध कारणले गर्दा नेपाली फुटबलको स्तर घट्दै गयो। सम्बन्धित निकायले पनि स्तरोउन्नतिका लागि खासै पहल गरेन। बरु एन्फा भित्रै अनेकौं विवादहरु देखिन थाले जसले गर्दा, नेपाली फुटबललाई झनै बेवास्था गरियो । घरेलु लिगको ठेगान थिएन, कहिले हुने, कहिले नहुने त कहिले बीच मै रोकिने । हाम्रो र नेपाली फुटबलको सौभाग्य भन्नु पर्छ, एन्फाको विवाद पछि पछि केही हदसम्म मिल्यो र रंगशाला पुनः निर्माण गरियो ।

एन्फा र कतार फुटबल संघ बीच नेपाली फुटबलको प्राविधिक विकास गर्नका निमित्त 'मेमोरेण्डम अफ अण्डर इष्ट्याण्डिङ' भयो जसले गर्दा एन्फाको पहलमा कतार फुटबल संघले एफसी प्रो लाइसेन्स होल्डर प्रशिक्षक अब्दुल्लाहलाई नेपाल पठायो ।

अहिले नेपाल १७१ औँ स्थानमा छ तर त्यस बेलाको १३६औं स्थानमा रहेको नेपाली टिम भन्दा धेरै फरक छ । अहिलेका खेलाडीहरु जितको भोका छन्, प्रशिक्षक ती खेलाडीहरूको भोक मेटाउन लागि परेका छन् । 

२०११ मा जोर्डन विरुद्ध खेलेका नेपाली खेलाडी मध्ये किरण चेमजोङ र रोहित चन्द गरी जम्मा दुई जना मात्रै अहिलेको राष्ट्रीय टोलीमा अटाइएका छन् । त्यसैले अहिलेको राष्ट्रिय टिमलाई नेपाली फुटबलको लागि नयाँ युग भन्दा फरक नपर्ला । यिनै युवा खेलाडीलाई तिखारदै अबको नेपाली फुटबल अगाडि बढ्नु पर्ने हुन्छ ।  अहिलेको खेलाडीमा सबैभन्दा कमजोर पक्ष भनेको अनुभवको कमी हुनु हो, तर यो टिमको फाइटिङ् स्पिरिटमा भने प्रश्न उठाउने ठाउँ छैन । 
 
वरियता नै हेर्ने हो भने त नेपाल ९ गोल नै खाने टोली त थिएन । तर फुटबलमा मोमेन्टम, बलियो मानसिकता र जितको भोको जसमा छ, उसैले जित्ने सम्भावना बढी हुन्छ । त्यति बेलाको नेपाली टिम र अहिलेको नेपाली टिमको ठूलो भिन्नता भनेकै यही हो । अहिलेको युवा टोलीमा जुन ऊर्जा र जित्न सकिन्छ है भन्ने मानसिकता छ, पहिलेको टिममा यही कुराको कमी थियो। अहिलेको टोलीमा यो परिवर्तन आउनुमा ठूलो श्रेय अहिलेका प्रशिक्षक अब्दुल्लाह अल - मुतैरीलाई नै जान्छ ।

दुःखमा नआत्तिनु र सुखमा नमात्तिनु भने जस्तै अहिले नै नेपाली फुटबल ले आफ्नो उद्देश्य पूरा गरिसकेको छैन, त्यसैले अहिले केही खेलमा पाएको सफलतालाई नै आधार मानेर क्षणिक खुसी हुनु भन्दा पनि खेलाडी, प्रशिक्षक र सम्बन्धित निकायले अझै के कस्ता कुरामा सुधार ल्याउन जरुरी छ, त्यसलाई औँल्याएर सुधार गर्दै अगाडि बढेमा ओरालो लागेको नेपाली फुटबल चाँडै नै सफलताको शिखरमा पुग्ने छ । 

यसकारण अब बाँकी रहेका वल्र्डकप क्वालिफायर खेलहरु निकै नै बलियो टिमहरुसँग भएका कारण जतिसक्दो अन्तिमसम्म जित या बराबरको मानसिकता राखेर खेल्नुपर्छ तर कथम कथाचित नतिजा हाम्रो पक्षमा नआइहाले यो त नयाँ युगको सुरुवात हो भनेर सम्झिदै आफ्ना गल्तीलाई सुधार्ने प्रयत्न सहित नेपाली फुटबल अगाडि बढनु पर्छ।

रविन दहाल (यो लेख लेखकको नितान्त आफ्नो बिचार हो।)

Post Comments