Province 3 भारत विरुद्धको फाइनल अन्जनले नखेल्ने
गोलनेपाल

काठमाडौं । माल्दिभ्समा जारी प्रतिष्ठित साफ च्याम्पियनसिपमा ऐतिहासिक रुपमा पहिलोपटक नेपाललाई फाइनल पुर्याउन अहम भूमिका खेलेका अन्जन बिष्टले भारत विरुद्धको फाइनल भने खेल्न नपाउने भएका छन् ।

लिग चरणका दुई खेलहरुमा पहेंलो कार्डको सामना गरेपछि अन्जनको ऐतिहासिक फाइनल खेल्ने सपना निराशामा बदलिएको हो । स्मरण रहोस, बुधबार निर्णायक मानिएको बंगलादेश विरुद्धको खेलमा अन्जनले पहेंलो कार्डको सामना गरेका थिए । त्यो खेलमा अन्जन कै पेनाल्टी गोलमा नेपालले १–१ को बराबरी खेल्दै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।

यद्यपि त्यसअघिको खेलमा पनि अन्जनले पहेंलो कार्डको सामना गरेकाले उनी फाइनल खेल्नबाट बञ्चित भएका हुन् । टिममा उनको अनुपस्थितिले पक्कै पनि असर गर्ने धेरैको बुझाई छ । प्रतियोगितामा अन्जनले हालसम्म दुई गोल गरिसकेका छन् । र सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा भारतका सुनिल क्षेत्रीभन्दा पछाडी छन् । सुनिलले कुल ४ गोल गरिसकेका छन् ।

नेपालले यहि शनिबारका दिन भारतसँग फाइनल खेल्दैछ । लिग चरणको खेलमा भारतसँगै १–० ले पराजित भएको नेपाललाई फाइनलमा त्यो हारको बदला लिने अवसर पनि हुनेछ । फाइनल खेल माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा नेपाली समयअनुसार ८ः४५ बजेदेखि शुरु हुनेछ ।

Post Comments