Province 3 ‘फिफा फ्रेण्डली’ का लागि नेपालको प्रशिक्षकमा हुमागाई
गोलनेपाल

काठमाडौं । नेपाली मूलका अमेरिकी फुटबल प्रशिक्षक प्रदिप हुमागाईले फिफा इन्टरनेशनल विन्डो अन्तरगत बंगलादेश विरुद्ध हुने खेलमा नेपालको प्रशिक्षक जिम्मेवारी सम्हाल्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का एक कार्यसमिति सदस्यले गोलनेपालसँग हुमागाईको नियुक्तिबारे पुष्टी गरेका हुन् । स्मरण रहोस, नेपालले आगामी असोज ११ गतेका दिन काठमाडौंमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तय भएको छ ।

उता नेपाली फुटबलसँग परिचित प्रशिक्षक हुमागाईंले यसअघि नेपालको चर्चित र सफल क्लब मध्ये एक थ्रीस्टार क्लबको जिम्मेवारी सम्हालिसकेका छन् । साथै गत संस्करणको नेपाल सुपर लिग (एनएसएल) तर्फ उनले ललितपुर सिटी फुटबल क्लबको जिम्मेवारी समेत सम्हालेका थिए ।

अल्मुतारीलाई झट्का

त्यस्तै सम्झौता अनुसारको कुरा गर्ने हो भने नेपालको मूख्य प्रशिक्षकमा अब्दुला अल्मुताइरी कायम छन् । यद्यपि उनी हाल कुवेत मै छन् । एन्फाको यो निर्णयले अब्दुलालाई पक्कै पनि केही झट्का लाग्ने देखिएको छ ।

हुन त, बन्द प्रशिक्षणबाट निकालिएका खेलाडी र प्रशिक्षकबीचको विवाद सुल्झाउन गठित छानबिन समितिले बुझाएको प्रतिवेदनमा पनि मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरीको विकल्प खोज्न सुझाएको थियो ।

तर यसबारे एन्फाले अहिलेसम्म ठोस निर्णय भने गर्न सकेको छैन ।

 

Post Comments