तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा जारी प्रतिष्ठित ३८ औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा गोर्खा ब्वाइज स्पोर्ट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
आज सम्पन्न निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा बलियो प्रतिद्वन्द्वी कपिलवस्तु ११ लाई १-० को साँघुरो गोल अन्तरले पाखा लगाउँदै गोर्खा ब्वाइजले अन्तिम चारको यात्रा तय गरेको हो।
खेलको सुरुवाती क्षणदेखि नै आक्रामक रणनीति अपनाएको गोर्खा ब्वाइजका लागि पहिलो हाफको १६ औं मिनेटमा विक्की चाम्लिङ राईले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको बाँकी समयमा दुवै टोलीबाट गोलका थप प्रयासहरू भए तापनि विक्कीको त्यही सुरुवाती गोल नै खेलको निर्णायक र टर्निङ पोइन्ट साबित भयो।
प्रतिस्पर्धात्मक खेल अवधिभर रक्षापंक्ति र मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै विपक्षीका प्रहारहरूलाई विफल पारेका गोर्खा ब्वाइजका आकाश थापा मगर खेलको 'म्यान अफ द म्याच' घोषित भए।