Province 5 डिएमसीलाई फार्मा कपको उपाधि
सुरज राना मगर

बुटवल । आउँदै गरेको नेपालीको महान चाड बडादशैंको उपलक्ष्यमा आयोजित प्रथम फार्मा कप फुटसल प्रतियोगिताको उपाधि देवदह मेडिकल कलेज (डिएमसी)ले जितेको छ ।

बुटवल स्थित ग्रीनफिल्ड एरिनामा सम्पन्न फाइनल भिडन्तमा डिएमसीले आयोजक दि फार्मा टिम भेनसलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । फाइनलमा डिएमसीका लागि दुवै गोल निरन्जन अर्यालले गरे ।

विजेता बनेको देवदहले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता बनेको आयोजक टोलीले १५ हजारमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी देवदह कै विवेक श्रेष्ठ घोषित भए ।

त्यस्तै उत्कृष्ट गोलरक्षक आयोजक दि फार्मा टिम भेनसका आर्यन घर्ती मगर चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार हिमचुली टिमका गोविन्द सारु मगरले हात परे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी तथा वरिष्ठ न्युरोसर्जन डा.केआई सिंहले एक कार्यक्रमका बीच पुरस्कृत गरे । जिल्लाभित्रका मेडिकल पेशामा आवद्ध भएकाहरु बीच भाइचारा र सद्भाव कायम गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिता आयोजनाको यो पहियो प्रयास रहेको बताउँदै आगामी संस्करणदेखि प्रतियोगितालाई थप सभ्य र भव्यताका साथ आयोजना गर्ने योजना रहेको आयोजक दि फार्मा टिमका प्रयोग खालिङ राईले बताए ।

Post Comments