Province 5 एनडिएन टिम ए लाई फुटसल उपाधि
सुरज राना मगर

बुटवल । रुपन्देहीमा सम्पन्न प्रथम देवमान स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि एनडिएन टिम ए ले जित्न सफल भएको छ । प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा एनडिएनले शिवपुर एफसीलाई ३–२ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

तिलोत्तमा नगरपालिकाको भलवारी स्थित सनराईज फुटसलमा सम्पन्न फाइनल खेलमा दुवै टोलीले निर्धारित समयको खेल गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो । टाईब्रेकरमा एनडिएनले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको एनडिएनले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता शिवपुरले १५ हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई प्रथम पुरस्कार प्रायोजन गरेका विशिष्ट अतिथी तथा स्व. देवमान पुनका छोरा विवेक पुन, प्रमुख अतिथी रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा केन्द्रिय एन्फा सदस्य दिर्घ बहादुर केसी, रुपन्देही जिल्ला फुटबल संघ तथा लुम्बिनी प्रदेश फुटबल संघका महासचिव लोक पुन लगायतले पुरस्कृत गरेका थिए ।

रुपन्देही जिल्ला रेफ्री संघको आयोजनामा यहि असोज १० र ११ गतेका दिन भएको दुई दिने प्रतियोगितामा कुल २९ टोलीहरुले सहभागिता जनाएको प्रतियोगिता संयोजक रिपेन शाक्यले बताए ।

Post Comments