Province 5 सिद्धार्थ एफसी फाइनलमा, उपाधिका लागि फुलबारीसँग भिड्ने
सुरज राना मगर

भलुही । सिद्धार्थ एफसी, खैरेनी यहाँ जारी प्रथम वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो सेमिफाइनलमा सिद्धार्थले आयोजक बुद्ध स्पोर्टस क्लब, भलुहीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

देवदह–१०, भलुही स्थित बयरडाँडा खेलमैदानमा भएको खेलमा सिद्धार्थका लागि देव दर्लामीले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता देव दर्लामी नै खेलको म्यान अफ द म्याच चुनिए । सिद्धार्थले अब जेठ १६ गते हुने फाइनलमा फुलबारी गाईज, बुटवलसँग उपाधिका लागि भिड्ने छ ।

बुद्ध स्पोर्टस क्लब, देवदह–१०, भलुहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

भेट्रानतर्फ भूपू सैनिक फाइनलमा

त्यस्तै आइतबार सोही मैदानमा भएको भेट्रान तर्फको खेलमा भूपू सैनिक टोल विकास संस्थाले रोहिणी भेट्रान्सलाई ३–२ ले हरायो । भूपू सैनिकको जितमा कमल गुरुङले दुई गोल गरे भने थप एक गोल राजु गुरुङले गरेका थिए । उता पराजित रोहिणीका लागि सन्तोष क्षेत्री र केशव खड्काले गोल गरेका थिए ।

भूपू सैनिकले अब फाइनलमा आयोजक बुद्ध स्पोर्टस भेट्रान्ससँग उपाधिका लागि भिड्ने छ । भेट्रान्सतर्फको फाइनल खेल पनि जेठ १६ गते नै हुने आयोजकले जानकारी दियो । साथै विजेता तथा उपविजेता खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

Post Comments