Province 5 कर्णेल उजिर सिंह पाल्पा गोल्डकप शुरु, आयोजक पाल्पाको विजयी शुरुवात
सुरज राना मगर

तानसेन । पाल्पा जिल्ला कै प्रतिष्ठाका रुपमा रहेको कर्णेल उजिर सिंह पाल्पा गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक पाल्पा–११ ले विजयी शुरुवात गरेको छ । सोमबार तानसेन स्थित टुंडिखेल मैदानमा भएको उद्घाटन खेलमा पाल्पाले लिस्नु युवा क्लब, कोटिहवा, रुपन्देहीलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

पाल्पाको जितमा आशिष राना नायक रहे । उनले खेल शुरु भएको ११औं मिनटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको ४९औं मिनटमा दोस्रो गोल गर्दै घरेलु टोलीलाई रोमाञ्चक जित दिलाएका थिए । निर्णायक दुई गोल गरेका पाल्पाका आशिष राना नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार हात पारे ।

यो जितसँगै पाल्पा क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत जेठ १६ गते मंगलबारको खेल रुपन्देही–११ र २८ बिगाहा युवा क्लब, नवलपुरबीच हुने खेल संयोजक करण चित्रकारले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय जंग राणा लगायतका अतिथीहरुले गरेका थिए ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक करण चित्रकारले जानकारी दिए । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ २७ गतेका दिन हुनेछ ।

 

Post Comments